साउन २,काठमाडौं ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज साउन २ गते ल्याउने तयारी गरेको छ ।
स्थानीय तहमा रोजगारी बढाउन पुनरकर्जा कोष वृद्धि गर्ने र त्यसको सीमा बढाउने, कर्जा तिर्न नसकेका ऋणीको लागि व्याज छुट तथा किस्ता र व्याज तिर्ने समय बढाउने लगायतका राहत प्याकेजको अपेक्षा मौद्रिक नीतिसँग गरिएको छ ।
यो मौद्रिक नीति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ल्याउन लागेको पहिलो मौद्रिक नीति पनि हो ।जसका कारण यो पटक के कस्ता कार्यक्रम आउने हुन् भनेर धेरैले यसलाई चासोका रुपमा हेरिरहेका छन् । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अपेक्षा गरिएभन्दा बढी राहत प्याकेज ल्याउने यसअघि नै घोषणा गरिसकेका थिए।