नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक गरेदेखि चिसिएको नेपाल – भारत सम्बन्ध प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले अहिले झन् दुई देश बीच सम्बन्धमा चिसोपन बढ्दै गएको छ ।
बनारसमा विश्व हिन्दु सेनाले एक नेपाली युवकमाथि चरम अत्याचार गरेर दुई देश बीचको सम्बन्ध अब कुटनीतिक मात्र नभई जनस्तरमा नै चिसिसकेको भान दिएको छ । विश्व हिन्दू सेनाले ती नेपाली युवकको जबरजस्ती मुण्डन गरेर उनलाई जय श्री रामको नारा लगाउन पठाएको थियो ।यस्तो अमानविय कार्य गर्ने अरु कोही नभई भारतको सत्तारुढ दल भाजपाको ठूलो समर्थक संस्था विश्व हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष अरुण पाठकले गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको,’ रामको जन्मभूमि नेपाल हो भारतले नेपालको सांस्कृतिक अतिक्रमण गरेको’ अभिव्यक्ति दिए सँगै विश्व हिन्दू सेनाले एक पोस्टर जारी गरी चेतावनी दिएका थिए । पोस्टरमा प्रधानमन्त्री ओलीलाई माफी माग्दै आफ्नो भनाइ फिर्ता लिन अन्यथा भारतमा नेपालीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो ।
यसरी दिएको चेतावनी अर्थहीन भएपछि भारतमा रहेको नेपाली नागरिकलाई जबर्जस्ती मुण्डन गरेर जय श्री राम लेखिदिई जबरजस्ती ओली मुर्दाबाद, जय श्री राम जस्ता नारा लगाउँदै भिडियो सामाजिक सञ्जालमा राखेका थिए।
कुटनीतिक विवादलाई व्यक्तिगत र संस्थागत गर्न खोज्ने पाठकले दुई देश बीच जनस्तरमा नै सम्बन्ध बिगारेका छन्।
घटनाको भिडियो सामाजिक संजालमार्फत जारी गरेका अरुण पाठकविरुद्ध प्रहरीमा उजुरी परेको भारतीय अखबार दैनिक जागरणले लेखेको छ । समाचारअनुसार पाठकविरुद्ध भेलपुर थानामा उजुरी परेको छ । यस सम्बन्धमा नगर पुलिस अधीक्षकले आरोपीविरुद्ध कारवाही गरिने बताएको समाचारमा जनाइएको छ