साउन १६, रुपन्देही। गुल्मीको रुरु गाउँपालिका–५ आटीपाटामा शुक्रबार गएको पहिरोमा एकैघरका चार जना पुरिएका छन् ।
पहिरोमा पुरिएका चार जनामध्ये एकको शव फेला परिसकेको छ। तीन जना अझै बेपत्ता छन्।
घर माथिबाट ढुंगासहित बगेर आएको पहिरोले राजु माझीको घर बगाएको हो । उनकी श्रीमती विना माझी, साना साना दुई छोरा सागर र हेमन्त र ४ वर्षीया छोरी विनिताको पहिरोले पुरिएका हुन्। तीमध्ये छोरी विनिताको शव फेला परिसकेको छ।
शुक्रवार साँझ ६ बजेपछि परेको मुसलधारे वर्षाले पहिरो गएको र पहिरोमा तीन जना बेपत्ता र एक जनाको मृत्यु भएको वडअध्यक्ष हरि ज्ञवालीले बताए । ‘तीन जना पहिरोमै बेपत्ता छन्,’ उनले भने, ‘एक जना बालिकाको मृत्यु भएकै अवस्थामा शव फेला परेको छ ।’ पानी परिरहेकाले उद्धार र खोजीमा समस्या भइरहेको उनले बताए ।