काठमाडौं।आजभोलि गाउँघरमा मुश्किलले देख्न पाइने माटोले बनेको पुरानो घर काठमाडौंकै बुढानिलकण्ठमा देख्दा देख्ने जति अचम्ममा परेको हुन्छ ।
पुरानो परम्परागत शैलीमा बनेको घर जहाँ आँगन मज्जाले लिपपोत गरिएको छ। घरको मूलढोका छेउछाउ पुर्खादेखिको खुकुरी, तरबार,हँसिया , बन्चरो , कुचो र नाङ्लो जस्ता घरायसी कामकाजी सरसामानले सजिएको छ। यसरी मनै लोभ्याउने घरको मुली हुन् गोपाल लामा ।
उमेरले ६५ वर्ष पुगिसकेका लामा त्यही घरमा आफ्नो श्रीमती सँग बस्छन् । बस्नलाई उहाँसँग महल जत्रो घर छ जहाँ आफ्नो छोरा बुहारी नाति नतिना बस्छन् तर पुर्ख्यौली घरको मायाले महलमा बस्न मन नलाग्ने बताउनु हुन्छ उहाँ ।
गोपाल लामा बस्ने पुरानो घरको ठीक सामुन्ने उहाँकै पक्की भवन छ तर उहाँ आफ्नो सीप र समय आफ्नै पुरानो घर सजाउनमा लगाउनु हुन्छ ।
समयको गति निकै अगाडि बढिसकेको छ जहाँ मानिस पुरानो घरलाई पक्की भवनमा परिवर्तन गर्दै छन् तर गोपाल लामाको घर तिनीहरूको लागि एक उदाहरण बनेको छ ।