भाद्र ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को लामो समय देखि जारी विवाद समाधानको खाका बनाउन गठित ६ सदस्यको कार्यदलले आज शनिबार पार्टीका दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको छ।
कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको हो। नेकपाभित्र लामो समयदेखि जारी विवाद अन्त्यका लागि खाका तयार गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी ६ सदस्यको कार्यदल गठन गरिएको थियो।
कार्यदलले आज अपराह्न पौने ५ बजे आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रतिवेदनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने सुझाव दिइएको छ।
त्यस्तै प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको अधिकार थप व्यवस्थित र व्याख्या गरिएको तथा सरकारका सबै निर्णय पार्टीको सहमितमा हुने सुझाव प्रतिवेदनमा दिइएको छ।
यस्तै चैतमा तोकिएको महाधिवेशन सुनिश्चित हुने गरी तत्काल काम अघि बढाउनेलगायका सुझाव दिइएको बताइएको छ।