भाद्र ७, काठमाडौं। कोरोना भाईरस ( कोभिड १९ ) संक्रमितको संख्या बढिरहेको र संक्रमणको कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भइरहँदा जोखिम नियन्त्रण तथा रोकथामका लागि देशका विभिन्न जिल्लाले जारी गरेको निषेधाज्ञाको समयावधि थप गरिएको छ।
कपिलवस्तुमा संक्रमणकै कारण २ जनाको ज्यान गएको छ भने संक्रमितको संख्यामा दिनहुँ वृद्धि भइरहेको छ यसैलाई मध्यनजर गर्दै थप एक हप्ताका लागि कपिलवस्तुमा निषेधाज्ञा थपिएको छ ।
त्यस्तै कास्की जिल्लामा जारी निषेधाज्ञा थप ५ दिन लम्बिने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीमा आइतबार बसेको जिल्ला विपद व्यवस्थापन समिती (डिसिसिएमसी)को बैठकले निषेधाज्ञाको समयावधि ५ दिन थप गरेको हो ।
त्यस्तै सिन्धुपाल्चोकमा यही भदौ १ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ। आइतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले यही भदौ १४ गतेसम्मका लागि जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
त्यसैगरी रौतहटमा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याएको छ । भाद्र ७ गते आजसम्मका लागि तोकिएको निषेधाज्ञा समयावधि भाद्र १५ गते सम्मका लागि थपिएको हो । हालसम्म रौतहटमा कोरोना संक्रमितको संख्या १६० पुगेको छ।
त्यस्तै गोरखामा थप एक साताका लागि निषेधाज्ञा थपिएको छ । यसअघि गोरखामा भदौ १ देखि ७ गते आज (आइतबार) राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो ।
त्यस्तै कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रण गर्न रुपन्देहीमा आइतबार राति (आज) सम्म जारी रहेको निषेधाज्ञा थप भदौ १४ गतेसम्मका लागि थपिएको छ ।
त्यस्तै सुदूरपश्चिमका चार जिल्ला कैलाली, कञ्चनपुर, बैतडी र डडेल्धुरामा निषेधाज्ञा भाद्रको मध्य ( भाद्र १२ देखि १५ गते ) सम्मका जारी रहने छ।
त्यस्तै सुनसरीमा थप एक साता भाद्र १४ गते सम्मका लागि निषेधाज्ञा थपिएको छ ।सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको जानकारी हुन्।
त्यस्तै दैलेख जिल्ला प्रशासन कार्यालयले तीजमा भिडभाड काम गर्न भाद्र ४ गते देखि ४ दिनका लागु गरिएको निषेधाज्ञा थप तीन दिन भाद्र १० गतेसम्मका लागि थपिएको छ।
त्यसैगरी लमजुङमा भाद्र ३ गतेदेखि ५ दिनका लागि लागु गरिएको निषेधाज्ञा थप ५ दिन भाद्र १२ गतेसम्मका लागि थपिएको छ।