भदौ १५, काठमाडौं। भारतीय पुर्व राष्ट्रपति प्रणव मुखर्जीको आज निधन भएको छ। उनी कोरोना संक्रमणको उपचार गराइरहेका थिए।
मुखर्जीको निधनको खबर उनका छोरा अभीजित मुखर्जीले ट्वीट गरी दिएका हुन्। चिकित्सकहरूको प्रयासका बाबजुद बुवालाई बचाउन नसकिएको उनले उल्लेख गरेका छन्।
सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको हो।
फोक्सोको बिरामी मुखर्जी शल्यक्रियाका लागि अस्पताल भर्ना भएका थिए। मुखर्जीमा शल्यक्रियाअघि गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको थियो। उनी दिल्लीस्थित आर्मी अस्पतालमा उपचाररत थिए।
भारतका पूर्व राष्ट्रपतिको निधनप्रति नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य राजनेताहरुले सामाजिक सञ्जालबाट दुःख प्रकट गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट आफू मर्माहत भएको बताएकी छन्।
उनले ट्विटर मार्फत नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। ‘उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ’, उनले भने।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै भारतीय सरकार, जनता र उनको परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ।
त्यस्तै पुष्पकमल दाहाल प्रचण्डले पनि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मुखर्जीलाई श्रदान्जली दिएको छ। प्रचण्डले आफुले प्रधानमन्त्रीको हैसियतमा हु प्रणव मुखर्जी ( राष्ट्रपति ) को स्वागत गर्न पाएको अवसरको स्मरण गरेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरले दुःखित बनाएको बताएका छन् ।
उहाँको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” सभामुख सापकोटाले श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, “नेपाली जनता, नेपालको संघीय संसद र मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”