काठमाडौं । नेपाल प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको चारवर्षे कार्यकाल सोमबार बिना कुनै औपचारिक बिदाईमा नै सकिएको छ।
नेपाललाई अँध्यारोबाट उज्यालोतर्फ लग्न सफल व्यक्तित्त्व कुलमान घिसिङ २०७३ साल भदौ २९ गते प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।
कुलमानको पुन नियुक्ति हुनुपर्ने माग भइरहेपछि ऊर्जा मन्त्री वर्षमान पुनले मन्त्रिपरिषद्मा पुन नियुक्तको प्रस्ताव लगिने बताइएको थियो। तर सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश नै गरेको थिएन। ऊर्जा मन्त्रीले कुलमान घिसिङको प्रस्ताव लगेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा उक्त प्रस्ताव पेश गरेन।
सोमबारको मन्त्रिपरिषद् बैठकलाई मध्यनजर गर्ने हो भने कुलमानको दोहोरिने कुरा अझै अलमलमै रहेको बुझ्न सकिन्छ। स्रोतका अनुसार प्रधानमन्त्री कुलमानसँग असन्तुष्ट रहेको बुझिन्छ।
प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक नियुक्ति अब प्रक्रियामा जाने भएको छ। सो पदका लागि प्रतिस्पर्धाबाटै छनोट गरिने अधिक सम्भावना रहेको छ।