असोज ८, काठमाडौं। २४ घण्टाको लगातार वर्षाले देशभर बाढी पहिरोले १३ जनाको ज्यान गएको छ ।
स्याङ्जामा सडकको पहिरोले एकै परिवारका आठ जना सहित नौ जनाको ज्यान गएको छ।एकजनालाई भने जीवितै उद्दार गरिएको छ।
आज बिहान माया नेपालीको घरमा पहिरो खस्दा उहाँसहित नौ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्ला प्रहरी उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार पहिरोमा परेर ६० वर्षिया सानु नेपाली,४८ वर्षिया माया नेपाली, मायाका छोराहरु ३० वर्षका दीपक, २१ वर्षका कुलदीप र ९ वर्षका विवश, बुहारी १६ वर्षिया विनिता तथा नाति शिशिर र पाहुना आएकी २८ वर्षिया उमाकला नेपालीको ज्यान गएको हो ।
त्यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ बिर्घाको गौतम टोलमा पहिरोले घर भत्काउँदा बाबुराम दमाईका १७ वर्षिय छोरा विष्णुको ज्यान गएको प्रहरीले जनाएको छ ।
यसैबीच बाग्लुङको काठेखोला गाउँपालिका–२ को भीमापोखरामा गोठ भत्किँदा बुधबार बेपत्ता भएका टेकबहादुर खातीको शव बिहीबार भेटिएको छ ।
कपिलवस्तुको कोइली खोलाले बगाउँदा बेपत्ता भएकामध्ये अर्घाखाँचीका केशव भाट क्षेत्रीको शव भेटिएको छ । यस्तै पाल्पाको रम्भा गाउँपालिका २ को फोक्सिङकोटमा तीन घर पहिरोले बगाउँदा मोतिसरा गाहाको ज्यान गएको छ । हुमबहादुर गाहाको पाँच जनाको परिवार हराइरहेका छन् ।