असोज २२, काठमाडौं। २५ दिनदेखि सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसी र सरकार पक्ष बीच आज वार्ता हुने भएको छ।
हिजो बुधबार दुवै पक्षले आ आफ्नो वार्ता टोली गठन गरिसकेको छ। मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनाली सहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि समिति गठन गरिएको हो।
वार्तामा सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे मागमा छलफल हुने छ।
वार्ताका लागि गठित टोलीमा सरकार पक्षमा सरकारले शिक्षा सचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा सदस्य रहेको टोली गठन गरेको छ ।
यस्तै डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेको टोली गठन गरेको छ ।
चिकित्सा शिक्षा सुधारका विषयमा विभिन्न ६ बुँदे माग राख्दै डाक्टर केसी १९ औं पटक भदौँ २९ गते जुम्ला एक मन्दिरमा अनसन बस्नुभएको हो ।