मंसिर ३, काठमाडौं। काठमाडौं महानगरपालिकाले खुला ठाउँमा खाना खान आउनेलाई रोजगार दिने भएको छ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले काम गर्न सक्नेलाई हप्ताको दुईदिन काम दिएर १४ सय रुपैयाँ दिने बताए।
कसैको ठूलो परिवार छ भने उनीहरुमध्ये २ जनालाई काममा लगाउने र काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँको दरले दिइने उहाँको भनाइ छ । तर, काम गर्न नसक्नेहरुका लागि भने व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।
यसैबीच, महानगरपालिकाले आज खुला ठाउँमा खान खुवाउने अभियान्ताहरुलाई बोलाएको छ । तिहारअघि, तिहारपछि खुला ठाउँमा खाना नखुवाउने सहमति भए पनि सहमति कार्यन्वयन नभएकाले अब के गर्ने भन्नेबारे छलफल गर्न महानगरपालिकाले उनीहरुलाई बोलाएको महानगरपालिकाका प्रवक्ता डंगोलले बताउनुभयो ।
तिहारअघि भएको छलफलमा तिहारपछि खुला ठाउँमा खाना खुवाउन रोकेर भाडामा ठाउँ लिएर खाना खुवाउने अभियान चलाउने सहमति भएको थियो । सहमतिअनुसार खाना खुवाउने ठाउँको भाडा महानगरपालिकाले व्यहोर्ने रहेको थियो ।
भाडाको ठाउँ खोजिरहेको र ठाउँ नपाउञ्जेल खुला ठाउँमै खाना खुवाउन आफूहरु बाध्य भएको अभियान्ताहरुले बताएका छन् । कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण रोजगारी गुमाएर खाना खान समस्या भएकाहरुका लागि खुलामञ्च लगायत ठाउँहरुमा खाना खुवाउने अभियान चलिरहेको छ